काठमाडौं, १६ असोज । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मदर्सा शिक्षाको लागि छुट्टै ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले मदर्सा बोर्ड बनाउन र आधुनिक बनाउन पनि माग गरे । मदर्शामा धार्मिकमात्रै पढाई नहुने भन्दै यसरी नजरअन्दाज नगर्न सरकारलाई उनको सुझाव छ ।
साहले भने–‘नेपालमा हजारौं मदर्साहरु रहेका छन् । जहाँ लाखौं विद्यार्थीहरु पढ्छन् । ती मदर्साहरुलाई सरकारी मान्यता नदिएर आज लाखौं विद्यार्थीहरुको भविष्य अन्यौल भएको छ । वर्षौ लगाएर पढ्छन । लाखौं/करोडौं खर्च हुन्छ । तर, शैक्षिक योग्यताले मान्यता पाउँदैन् । राज्य भनेको भविष्य बनाउने हो कि बिगार्ने हो ? परम्पराकालदेखि, सयौं वर्षदेखि चल्दै आएको मदर्साबारे राज्य बेखबर हुन मिल्छ कि मिल्दैन् ? यसरी नजरअन्दाज गर्न मिल्छ ? मदर्सामा पढ्ने बच्चाहरुको शिक्षाप्रतिको हक छ कि छैन ? नेपालको संविधानले भनेको छ–शिक्षा मौलिक हक हुनेछ । आधारभूत शिक्षा निःशुल्क हुनेछ । यो कुरा मदर्सामा पढ्ने बच्चाहरुको हकमा लागु हुन्छ कि हुँदैन् ? मदर्सामा पढ्ने र पढाउने व्यक्तिहरु नेपाली हुन कि होईनन् ? यदि नेपाली हुन भने त्यसले यो हक राख्छन् कि राख्दैनन् ? यदि राख्छ भने ती मदर्साहरुलाई सरकारी मान्यता दिने व्यवस्था होस । अंग्रेजीको सरकारी मान्यता हुने ? तर, नेपालकै मुसलमानको भाषामा त्यो मदर्सा पढाउन नहुने ? यदि गलत हो भने त्यो राज्यले रोक्नुपर्दैन र ? यदि गलत छ भने बन्द गर्नुपर्यो ? सही हो भने कानूनी वैधानिकता दिनुपर्यो ।”