काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बङ्गलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । नेपालले पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल इरानसित पराजित भएको थियो ।
महिला कबड्डीमा इरान बलियो टोली मानिन्छ । इरानले यसअघि सम्पन्न १८औँ एसियाली खेलकुदमा महिला कबड्डीको स्वर्ण पदक जितेको थियो ।