काठमाडौं, १७ असोज । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले राम्रो काम गर्न खोजेपनि त्यो पर्याप्त नभएको गुनासो पोखेका छन् । उनले सरकारलाई राम्रो काम गर्नको लागि आफ्नो दलको सधैं साथ र सहयोग रहने पनि विश्वास दिलाए । पार्टीको पूर्व–पश्चिम जागरण अभियानअन्तर्गत आज (बुधबार) धनुषाको जनकपुरमा पार्टीनिकट प्रेस संगठन समाजवादी प्रेस संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
सो क्रममा उनले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने स्पष्ट पारेका छन् । उनले भने,“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।” जागरण अभियानमा अध्यक्ष नेपालसहित सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालपनि साथै छन् ।