Logo

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि



काठमाडौं, असोज १८। आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ ।

विश्वकप क्रिकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् ।

यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन । पछिल्लो संस्करणको विजेता इङ्ग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले आज उद्घाटन खेल खेल्ने छ । जुन भारतमा १२ वर्षपछि विश्वकपको फिर्ती पनि हुने छ । यसअघि सन् २०११ मा भारतले विश्वकप क्रिकेटको आयोजना गरेको थियो ।

सो संस्करणमा महेन्द्रसिंह धोनीको कप्तानीमा भारत नै च्याम्पियन बनेको थियो तर त्यसपछि भारत विश्वकपमा सधैँ निराश मात्र बन्दै आएको छ । यसपालि विश्वकप राउन्डरोविन संरचनामा खेलिने छ । जहाँ सहभागी प्रत्येक दस टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । कुल ४५ खेल खेलिएपछि शीर्ष स्थानमा रहने चार टिम सेमिफाइनलमा पुग्ने छ । त्यसपछि फाइनल मङ्सिर ३ गते हुने छ ।



प्रतिक्रिया दिनुहोस्