Logo

राष्ट्रियसभा : सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग



काठमाडौँ, १८ असोज । राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिइन् ।

सांसद युवराज शर्माले सरकारले कुनै पनि विधेयक ल्याउनुभन्दा अगाडि त्यसका बारेमा राम्रोसँग अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले भने, “भर्खरै व्यापक हड्तालपछि शिक्षक महासङ्घ र सरकारबीच सम्झौता भएको छ । विश्वासको सङ्कट गहिरिँदै गएका बेला ती सम्झौता कार्यान्वयन गर्ने सरकारको नैतिक जिम्मेवारी हो भने अर्कोतिर संविधानको पालना गर्नु बाध्यता छ । यस्तो धर्म सङ्कटमा प्रायःसरकार किन फस्ने गर्दछ ?” सरकारले सबैको विचार सुनेर मात्रै धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

सांसद शर्माले विकासका काम समयमै पूरा नहुनु ठूलो समस्या भएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको महँगीका कारण जनतालाई समस्या भएको बताए । उनले नेपालगञ्जमा भएको हिंसात्मक दङ्गा फैलिएको भन्दै त्यसबारेमा छानविन गर्नुपर्ने माग गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्मचारी निजामती ऐन नबनेकाले समस्या भएको बताउँदै जतिसक्दो चाँडो निजामती कर्मचारी ऐन ल्याउनुपर्ने माग गरिन् । “आज धर्मका नाममा, जातिको नाममा ढुङ्गा हानाहान किन भइरहेको छ ? सरकारलाई कमजोर गराउनका निम्ति, देशमा अस्थिरता मच्चाउनका निम्ति यस्तो भइरहेको त छैन ?”, उनले प्रश्न गरिन् ।

सांसद डा. विमला राई पौडेलले भनिन्, “आम माफी दिने सवालमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने थियो ।” सांसद हरिराम चौधरीले सुदूपश्चिम प्रदेश वरिपरिका जिल्लामा भूकम्पका कारण घरविहीन भएका परिवारलाई व्यवस्थापन गर्नुपर्ने माग गरे । कानुनी र नीतिगत भष्टाचारको अन्त्य गरिनुपर्ने उनको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्