काठमाडौं,२१ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बिद्रोही समूह हमासले गरिरहेको आक्रमण र त्यसपछिको परिणाम बारे संसद्लाई जानकारी गराउने भएका छन् ।
आज दिउँसो १ बजेका लागि बोलाईएको प्रतिनिधि सभामा विशेष समय लिएर साउदले उक्त आक्रमणको बारेमा जानकारी गराउन लागेका हुन् । मन्त्री साउदले आजै नेपालका लागि इजरायली राजदूत हनार गोडारसँग पनि सो बारेमा छलफल गरेका थिए ।
प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।
इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।