Logo

चाडपर्वलगत्तै दोस्रो चरणको आन्दोलन शसक्त बनाउने आजपाको घोषणा



काठमाडौं,२३ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बिगत एक महिनादेखि भन्सार नियमावलीमा भएको ४५ प्रतिशत पुरस्कार दिने व्यवस्था हटाउन माग गर्दै सुरू गरेको आन्दोलन तत्काललाई थाँती राखेको छ ।

मंगलबार आजपाका उपाध्यक्ष तिलक थापा मगरले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गरेर आन्दोलनलाई स्थगन गरेको जनाएका छन् ।

उपाध्यक्ष मगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘ हाम्रो पार्टीको नेतृत्वमा न्यायप्रेमी जनताको सहभागितामा भन्सार विभागमार्फत नेपाल सरकारसमक्ष ‘भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउन’ माग राखेर गत भदौ ३१ गते भन्सार विभागमा पुगी ज्ञापनपत्र बुझाईएको थियो । सोहीअनुसार हामीले विभिन्न संघर्षका कार्यक्रमहरु जारी राखेको अवस्थामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ–दिपावली र छठलगायतका महत्वपूर्ण चाडहरु हाम्रो मुखैमा रहेकाले यी चाडलाई मध्यनजर गर्दै संघर्षका कार्यक्रमहरु अर्को सूचना नआएसम्म थाँती राखिएको जानकारी गराउँदछौं’ ।

आजपाले चाडपर्व सकिएलगत्तै यससम्बन्धी संघर्षका दोस्रो चरणका सशक्त कार्यक्रमहरु सार्वजनिक गरेर अघि बढ्ने निर्णयसमेत गरेको जनाएको छ ।

यस्तो छ आजपाले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्