काठमाण्डौं, असोज २६ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत चेन्नईमा आज दिउँसो २ बजे हुने खेलमा बङ्लादेश र न्युजिल्यान्ड भिड्दैछन्। न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ ।
बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो ।
त्यस्तै, बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्ल्यान्डसँग एक सय ३७ रनले पराजित भएको थियो । हिजो भएको खेलमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।