Logo

लुट र भ्रष्टाचारले देश थिलोथिलो भयो : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २८ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश अहिले संकटग्रसत अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले पनि राजनीतिक अस्थिरता कायमै छ । सत्ताभित्र ठूलो लडाईं छ । सरकार–सरकारभित्रै लाडाईं छ । यसो हेर्दाखेरि राजनीतिक स्थिरता धेरै टाढा देखिन्छ । स्थिरता सम्भव नभएसम्म देशको समृद्धि सम्भव छैन् ।’

हिजो (शनिबार) पार्टीको बनेपा नगरकमिटी भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष साहले निराशामा रहेका नेपाली जनतालाई उत्साह भर्नको लागि पार्टीले जनपक्षीय कदम चालिरहेको दाबी गरे ।

उनले भने,‘देशमा आर्थिक अवस्था झन भयावय छ । विदेशीले पत्याएका छैनन् । विदेशी लगानी पनि शून्य छ । सरकारले तोकेको राजस्वसमेत उठ्न सकेको छैन् । लुट र भ्रष्टाचारले देश थिलोथिलो भएको छ। नेपाली जनता यवितेला हैरानीमा छन् । उनीहरुलाई त्यो निराशा र चिन्ताबाट निकाल्न हामी लागिपरेका छौं ।’

साहले नेपालमा भविष्य छैन् भन्ने चर्चा हुन थालेको भन्दै यस्तो अवस्था आउनु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘विद्यार्थीले पनि नेपालमा आफ्नो भविष्य देखिरहेको छैन् । अहिले त पुँजीपति पनि विदेश भागिरहेको कण्डिसन छ । नेपाली जनता फ्रस्टेड भएका छन् । नेपालका नेताहरुले सफल ढंगले राजनीतिलाई अघि बढाउन सकेनन् । त्यही भएर यहाँ लुट्ने र भाग्ने प्रवृत्ति हाबी भएको छ ।’

उनले नेपाल बनाउन सकिँदैन् त ? भन्दै प्रश्नसमेत गरे । उनले देशको गौरव, हावा, पानी र माटो सबै हिसाबले दुनियाँका सबै देशभन्दा नेपाल राम्रो रहेको दाबी गरे । साहले भने–‘हाम्रो भन्दा अरु देशको माटो राम्रो हो र ? म भन्छु अरु देशभन्दा हाम्रो माटो राम्रो छ । हावा, पानी सफा छ । हाम्रा जनता इमानदार र मेहनती छन् । हाम्रो देशको इतिहास गौरवपूर्ण छ । हामी किन समृद्ध हुन सकेनौं त ? नेपाल त सबैथोकले नेपाल भरिपूर्ण छ । तर पनि किन देश बन्दैन् ? किनकी यहाँका नेता इमानदार भएनन् । देशको नेतृत्वकर्ता गलत भए । जसको कारण नेपाल अघि बढ्न सकेको छैन् । जुन घरको गार्जियन राम्रो हुन्छ, त्यो गरिब घर पनि धनी हुन्छ । तर, नराम्रो गार्जियन पर्यो भने सम्पन्न घर पनि गरिब हुन्छ ।’

उनले सबै कुराले सम्पन्न देश किन बर्बाद भयो भन्ने कुरा अब चासोको विषय भएको उल्लेख गरे । उनले भने,‘आज देशमा चोरहरुको हालीमुहाली भैरहेको छ । अहिले नेपालबाट दुई थरि मान्छे विदेश गैरहेका छन् । एउटा समूह कमाएर नेपाल ल्याउने र अर्को नेपाल लुटेर विदेश पुर्याईरहेका छन् । अवसर र फाईदा नेपालमा लिने अनि विदेशमा मोज गर्ने काम भैरहेको छ । भगौडा वर्ग सत्ताको मालिक भएसम्म देशको विकास हुँदैन् । भगौडा वर्गलाई निषेध गरौं । नियन्त्रण गरौं । हामीले लडाईं सुरु गरिसकेका छौं ।’

यस्तो छ उनको सम्बोधन :



प्रतिक्रिया दिनुहोस्