काठमाण्डौं, असोज २९ । सरकारले इजरायलमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोगहरुसँग आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोग तथा मिसनहरूसँग आग्रह गरेका हुन् । परराष्ट्रमन्त्री साउदले विपीनको अवस्था पत्ता लगाउन सरकारले सम्भव भएसम्मका सबै संयन्त्र परिचालन गरेको पनि बताएका छन् ।
हमाससँग सम्बन्ध भएका भनिएका देशहरुसँग पनि कुरा भइरहेको उनको भनाइ छ । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने अनुमान छ । इजरायलमा रहेको नेपाली दूतावासले पनि बेपत्ता विपीनको खोजी गर्ने काम भइरहेको जनाएको छ ।