Logo

धादिङवेसीमा राष्ट्रिय विभूति साख्वाको सालिक



मलेखु (धादिङ), २९ असोज । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो ।

राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।

सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनःनिर्माण गरिएको छ । गाउँगाउँबाट सदरमुकाम आइपुगेका सुस्ताउने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ ।

स्थानीय दाताबाट सङ्कलन भएको तीन लाख ७५ हजार, बीचबजार टोल सुधार समितिको कोषमा रहेको एकलाख ९४ हजार तीन सय गरी कूल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुङ्गेधारा र विश्रामस्थलको संरचना निर्माण पूरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चौबिसैँ घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुङ्गेधारा निर्माण गरिएको छ । भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय सविभूति शङ्खधर सख्वाको सालिक निर्माण भइरहेको उनले बताए । चौतारो, ढुङ्गेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ ।

सहयोगी दाताबाट सङ्कलन भएको एक लाख ५४ हजार छ सय र गणेश मन्दिर संरक्षण समितिको कोषबाट दुई लाख ५७ हजार गरी चार लाख ११ हजार छ सयबाट मन्दिरको पुनःनिर्माण गरिएको समितिका संरक्षण समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्