काठमाडौं,२ कार्तिक । एसीसी-यू १९ प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई जितका लागि ३४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियामा जारी खेलमा टस जितेर साउदी अरबले पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ थालेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३४७ रन जोड्यो । नेपालले तयार गरेको विशाल योगफलमा ओपनर अर्जुन कुमालले शानदार शतकिय पारी खेले ।आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
त्यस्तै नेपालका लागि अर्को उत्कृष्ट पारी खेलेका आकाश त्रिपाठीले ८९ रनको शानदार पारी खेले । नेपालका लागि दीपक बोहराले २९, विशाल विक्रम घिमिरेले २४ रन थप्दा दीपेश कँडेलले १४ रन जोडे । भने कप्तान देव खनाल शून्य रनमा आउट भए ।
साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।
यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।
यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।