Logo

हल गोरु पाल्ने किसानलाई अनुदान



काठमाडौं, ३ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

वडा नं १ का एक सय चारलाई चार लाख १६ हजार, वडा नं २ का २९ लाई एक लाख १६ हजार, ३ का नौ जनालाई ३६ हजार, ४ का ४२ लाई एक लाख ६८ हजार, ५ का ५३ जनालाई दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई दुई लाख ८४ हजार र ७ नंका ५९ लाई दुई लाख ३६ हजार वितरण गरिएको शाहले बताए ।

“वडाबाट प्राप्त विवरणको आधारमा वडागतरूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो,”– उनले भने ।

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत १० लाख वितरण गरेको थियो । त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो । उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन् ।

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उनको भनाइ थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्