काठमाडौं,१० कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत उपाधिका लागि यूएईविरुद्ध खेलिरहेको नेपालले जितका लागि यूएईसामू १६३ रनको चूनौती प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भूर्तेलले अर्धशतकिय पारी खेले । २९ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ६ चौकाको मद्दतमा ५० रन बनााएका छन् । अर्धशतक पूरा गरेलगत्तै भूर्तेल यूएईका जाहुर खानको बलमा आउट भएका थिए । त्यस्तै करण केसीले २३ रन जोड्दा २ चौका र १ छक्का हिर्काएका छन् । भने अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १ छक्का र १ चौका हिर्काउँदै २० रन जोडेका थिए । उनी अली नसीरको बलमा आउट भएका थिए । उनलाई नासिरले क्लिन बोल्ड गरेका हुन् ।
त्यस्तै कप्तान रोहित पौडेलले १८ रन थप्दा ओपनर आसिफ शेखले ७ रन र कुशल मल्लले १ रन थपेका छन् । युएईका लागि आयान खानले ३ तथा अली नासेर र जहुर खानले २-२ विकेट लिए ।
यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । सिरिजमा नेपाल,यूएई र हङकङ सहभागी रहेको छन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।
युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।
नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ ।