Logo

रविको गुनासोः रास्वपालाई पुराना दल र नेताहरुले टेरेनन्



काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेलनेल परेको सर्टिफिकेट देखाएर त्यसको व्याज, व्याजको स्याज र मिटर व्याज खानेहरुलाई आफूहरुले हटाउने बताएका छन् ।

आज (शनिबार) ललितपुरमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले जेलनेलको सर्टिफिकेट देखाएर मिटरव्याज खानेहरुलाई जनताको मतबाट आफूहरुले परास्त गर्ने बताएका हुन् । देश बिगार्नेहरु चार वर्षको बीचमा अहिले अन्तिम भोज खाइरहेको उनको टिप्पणी छ ।

‘हाम्रो विमति व्यवस्थाप्रति होईन । व्यवस्थाको आडमा जेलनेल परेको सर्टिफिकेट देखाएर त्यसको व्याज, व्याजको स्याज र अहिले आएर मिटर व्याज खानेहरुले हटाउने हाम्रो विचार हो,’– उनले भने ।

रास्वपाले कहिल्यै पनि व्यवस्था र यो व्यवस्था ल्याउन योगदान गरेका नेताहरुको विरोध नगरेको उनको दाबी छ । त्याग गरेको भन्दैमा भ्रष्टाचार गरेर देशलाई आगो लगाउन आफूहरुले नदिने उनको भनाई छ ।

‘हामीले व्यवस्थाको विरोध गरेका होईनौं र नेताहरुले गरेको हिजोको त्यागको हामीले अबमूल्यान गरेका पनि होईनौं । मैले त्याग गरेको छु भन्दैमा घरमा आगो लगाउन हामी दिँदैनौं । हामी जोगाउँछौं,’– उनले भने ।

४/५ महिनाको अवधिमा २१ सिट ल्याएर प्रतिनिधि सभामा प्रतिनिधित्व गरेको नयाँ दललाई पुराना दल र दलका नेताहरुले नटेरेको उनको गुनासो छ ।

‘टेरेका त छैनन् यिनले । टेरेको भए नयाँ पार्टी आउँदा आउँदै, यतिधेरै जनताले घण्टी बजाउँदा बजाउँदै, झण्डै १२ लाख मत लिएर २१ जना सांसद ४/५ महिनामा आउँदा आउँदै यिनीहरु तर्सन्थेर भ्रष्टाचार गर्दैनथे । भ्रष्टाचारको फाइल खोलेको भए टुंगोमा पुर्याउँथे,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्