Logo

गोपालमानको गुनासोः ज्ञानेन्द्रले ‘कू’ गर्दा कफन बाँधेर नेतृत्व लिएँ, अहिले पार्टीले उचित मूल्याङ्कन गरेन



काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्टीभित्र आफ्नो उचित मूल्याङ्कन हुन नसकेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋण धमलासँग संवाद गर्दै उनले हिजो राजा ज्ञानेन्द्रले कू गर्दाको परिस्थितिमा टाउकोमा कफन बाँधेर पार्टीमा गरेको योगदानको कुनै कदर नभएको बताएका हुन् ।

आफू सिनियर र जनजाति कोटाबाट हुँदा पनि पार्टीले सांसद नबनाएको उनले बताए । त्यसपछि राष्ट्रपति बनाउल भन्ने अपेक्षा गरेपनि त्यसमा पनि पार्टीले पाखा लगाइदिएको उनले सुनाए । तत्कालीन राजा ज्ञानेन्द्रले कू गर्दा उनले प्रजातान्त्रिक कांग्रेसको कार्यवाहक सभापतिको नेतृत्व गरेका थिए ।

‘पार्टीभित्र मेरो भूमिका कमजोर छैन । तर, मूल्याङ्कन भएन, मूल्याङ्कन गरेनन् भन्नुस् । मैले तेतिबेला कफन बाँधेर भन्छन् नि । साथीहरु भागे, तयार भएनन् कार्यवाहक लिन । शेरबहादुर र प्रकाशमानजीलाई शाही आयोगले थुनिसक्या, त्यसपछि मैले कार्यवाहको भूमिका निभाएँ र सारा आन्दोलन हाँकेँ ।’ उनले भने, ‘पाँच पार्टीसँग संयुक्त आन्दोलन हाकेँ । त्यसपछि सात पार्टीसँग संयुक्त आन्दोलन हाँकेँ । माओवादीसँग १२ बुँदे समझदारी गरेँ । ११औं राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न गराएँ । जेलमा भएका शेरबहादुरजीलाई निर्विरोध सभापति बनाउन पनि म सफल भएँ ।’

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको वरिष्ठ नेता बनाउँछु भनेर वचन दिएपनि धेरै ढिला भइसक्दासमेत देउवाले घोषणा नगरेको उनले बताए । ‘उहाँले मलाई (वरिष्ठ नेता) बनाउँछु भन्नु भएकै छ । बनाउँदिन भन्नु भएको छैन । तर, ढिला गर्नुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्