Logo

गणतन्त्रको रक्षाका लागि सडक संघर्ष गर्ने माओवादीको निर्णय



काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने निर्णय गरेको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।

माओवादीले विशेष अभियानकै क्रममा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वयको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने भएको छ । माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र जारी गरिसकेको छ ।

जारी परिपत्रमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’

लोकतान्त्रिक गणतन्त्रको रक्षा, मुलुकको स्वाधीनताको रक्षा, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान, अर्थतन्त्रको क्षेत्रमा सुधार लगायतका कार्यहरु सरकारको नेतृत्वमा भइरहेको, देशी विदेशी प्रतिगामी शक्तिहरु षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरु पनि छिटपुट रुपमा देखिएको परिपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्