Logo

शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन त्रुटी भएको छः माधव नेपाल



काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन ढिलाई भएको बताएका छन् । आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाल आफ्नो द्वन्द्व आफैं टुंग्याउन सक्छ भन्ने सन्देश विश्वसामू दिन आफूहरु सफल भएपछि विविध कारणले शान्ति प्रक्रिया निश्कर्षमा नपुगेको बताएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको कारण शान्ति प्रक्रिया नटुंगिएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले कसले शान्ति प्रक्रिया टुंग्याउन नचाएको खोजी गर्न पत्रकारहरुलाई आग्रह गरे । ओलीले लगाएको उक्त आरोपमाथि समीक्षा र मूल्याङ्कनको विषय भएको उनले बताए ।

‘वास्तवमा यति ढिलाई गर्न आवश्यक थिएन । विश्वका सामु जसरी हामीले एउटा उदाहरण प्रस्तुत गरेका थियौं । हामी आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्छौं भन्ने उदाहरण ।’ उनले भने, ‘अनमिनले नेपालबाट विदाई लिएपछि फेरि युद्ध भड्किन्छ, रगतको खोलो बग्छ, जसरी भनेका थिए, त्यसलाई हामीले गलत हो भन्ने कुरा सावित गरेका छौं । त्यो हिसाबले पनि सिंगो प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्वलाई सकारात्मक सन्देश प्रवाह गरेको उनको दाबी छ । गुटेरेसको लुम्बिनी भ्रमणले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरा विश्वसामू सन्देश प्रवाह गरेको उनको भनाइ छ । महासचिव गुटेरेसको नेपालप्रति निकटा र आत्मियता रहेको आफूले पाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्