Logo

सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले आफूहरुले सरकारको नेतृत्व गर्नेबेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेपनि अहिले अर्थतन्त्र संकटमुक्त रहेको बताएका हुन् ।

‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं,’– उनले भने ।

अर्थतन्त्र अझै पनि दवावमुक्त भने भइनसकेको उनको भनाई छ । अर्थतन्त्रको दवाव हटाउने कुरा सरकारका लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको उनको भनाई छ ।

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्नेपनि आफूलाई राम्रो हेक्का रहेको उनले बताए ।

अर्थतन्त्रमा रहेका संकटको समाधानका लागि निश्कर्ष निकाल्न छिट्टै सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्ने पनि उनले बताए ।

उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्