काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद विष्णु प्रसाद पौडेलले फागुन १ गते दिईएको जनयुद्ध दिवसको विदाबारे आलोचना गरेका छन् । उनले भने,‘फागुन १ गतेलाई जस्म मनाएर, दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सवलीकरण हुन सक्दैन् । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन् भन्ने मलाई लाग्छ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ, उसलाई यो ठीक हो भन्ने लाग्छ भने म सरकारलाई चूनौतिका साथ भन्न चाहन्छु–सरकारले फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस । त्यो आँट छ सरकारसँग ? नेपाली जनताले त्यसकाबारेमा निर्णय दिनेछन् ।’
आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई फागुन १ गतेको जनयुद्ध दिवसको दिन विदा दिने निर्णयबाट पछि हट्न चूनौति दिएका छन् । उनले भने, यदि पछि हट्न चाहँदैन भनेदेखि सदनसमक्ष प्रस्ताव लिएर आओस अनि सदनको निर्णय मानेर अघि बढोस ।’
पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाए । उनले सदनको यो अधिवेशन निराशाजनक भएको पनि आरोप लगाए । उनले भने,‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’