Logo

चियापान कार्यक्रमले पनि तोड्न सकेन ओली र नेपालबीचको तिक्तता



काठमाडौं,१६ कार्तिक । बडादसैंँ, तिहार, नेपाल सम्वत ११४४ र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बुधबार केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित रहेका थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा सीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेता बामदेव गौतम लगायत विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरू पनि कार्यक्रममा उपस्थित रहेको एमालेले जनाएको छ ।

चियापानमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, राजदूतहरू, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरू, विभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु उपस्थित रहेका थिए ।

एमालेले यसपटक विभिन्न दलका नेता तथा कार्यकर्ता लगायत झण्डै १५ हजारलाई चियापान कार्यक्रममा आमन्त्रण गरेको थियो । एमालेले चियापानमा आमन्त्रण गरेकामध्ये प्रायजसो च्यासल पुगेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित भएनन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल एमालेको चियापान सहारोह छल्न गृहजिल्ला रौतहट पुगेका थिए । उनी बुधबार दिनभर उतै अलमलिए । नेपालले चाहेको भए निर्वाचन क्षेत्रको कार्यक्रम छोट्याएर एमाले मुख्यालय च्यासल सक्ने समय थियो तर उनी आएनन् । ओली र नेपालको तिक्तापूर्ण सम्बन्ध यो चियापानले पनि तोड्न सकेन।

२०७८ को भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेपाल र उनको दललाई लामो समयसम्म एमाले अध्यक्ष ओली छुट्टै पार्टीको रुपमा मान्न तयार भएका थिएनन् । आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेको भन्दै नेपाल ओलीप्रति रुष्ट बनेका छन् ।

तत्कालीन एमालेमा रहँदापनि नेपाल र ओलीबीचको सम्बन्धमा कहिल्यै हार्दिकता नदेखिएको उनीहरु निकटका नेताहरु बताउँछन् । खासगरी एमालेको छैटौं महाधिवेशनपछि एमालेको गुट सहतमै आएको देखिन्छ । हुनत छैटौं महाधिवेशनमा कार्यनीति दस्तावेद लेखेर पेश गर्नेगरी तत्कालीन महासचिव नेपालले ओलीलाई पार्टीमा तेस्रो वरियता दिलाएका थिए । उक्त समयमा तेस्रो वरियतामा रहेका वामदेव गौतमलाई चौंथोमा झारेर नेपालले नै ओलीलाई स्थान दिएको हाल समाजवादीमा रहेका नेताहरु बताउँछन् ।

उक्त समयमा नेपाल महासचिव थिए भने अध्यक्षको रुपमा वृद्ध नेता मनमोहन अधिकारी रहेका थिए । उक्त महाधिवेशनमा ओलीलाई तेस्रो वरियता दिलाएपछि गुटगत राजनीति सुरु भएकोमा काठमाडौंमा २०७१ मा सम्पन्न नवौं महाधिवेशनसम्म आइपुग्दा निक्कै फैलिएको देखिन्छ । काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट नेपाललाई पराजित गर्दै एमालेको नेतृतवमा ओली आसिन भएपछि भने यी दुई नेताहरुबीचको गुट थप सतहमा आएको थियो ।

महाधिवेशनबाट पदाधिकारीदेखि केन्द्रीय कमिटी हुँदै सचिवालयमासमेत अल्पमतमा परेका ओलीले नेपाल निकटका नेतालाई छानीछानी आफ्नो कित्तामा ल्याउन सफल भएका थिए । जसले गर्दा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउँदै लगे भने नेपालसँगको गुटगत इगो झनै बढ्दै गयो

०७१ देखिको गुटगत राजनीति र तिक्ततापूर्ण सम्बन्धले उग्ररुप त्यतिबेला लियो जतिबेला तत्कालीन नेकपाको एकता उत्कर्षमा पुगेको थियो । २०७५ को जेठमा तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन भएको थियो ।

पार्टी एकताको २ वर्षमै तत्कालीन अध्यक्षहरु केपी अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको राजनीति खिचातानीमा नेपालले प्रचण्ड पक्षलाई साथ दिएका थिए । नेकपाभित्रको शक्ति संघर्ष चलिरहेकै अवस्थामा २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेपछि पूर्ववत रुपमा एमाले र माओवादी अलग अलग बनेका थिए ।

सर्वोच्चले पार्टी २ भाग लगाईदिएपछि एमालेमै अन्तरसंघर्ष गर्न खाजेका नेपाल खनालले करिव ६ महिनापछि नै एमाले फुटाएर अलग पार्टी गठन गरेका थिए । भने तत्कालीन नेकपाको अन्तरसंघर्षमा बहुमतको आडमा ओलीलाई पार्टीबाटै निष्कासीत गरेको घोषणा गरेका थिए । यी यावत घटनाले गर्दा नेपाल र ओलीबीचको सम्बन्ध सुध्रनुभन्दा धेरै बिग्रदै गएको देखिन्छ ।

पार्टी विभाजको झण्डै तीन वर्षपछि एमालेले पहिलो पटक औपचारिक रुपमा नेकपा एसलाई पार्टीको कार्यक्रममा बोलाएको थियो । यसअघि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनहुँदा उनको सम्झनामा आयोजित ‘सुवास र संविधान’ नामक अन्तरक्रियामा भने सम्मानित नेता खनाललाई वक्ताको रुपमा आमन्त्रण गरिएको थियो ।

एमालेले पूर्व प्रधानमन्त्रीको रुपमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललाई निमन्त्रणा गर्दा समाजवादीका महासचिव घनश्याम भुसाल ,नेत्री रामकुमारी झाँक्रीलगायतका सबै सांसदहरुलाई बोलाएको थियो । तर सम्मानीत नेता खनाल र झाँक्रीबाहेक एमालेको चियापानमा समाजवादीका अन्य नेताहरु उपस्थित भएनन् । अझ झाँक्री त पुष्पगुच्छासहित पुगेकी थिइन्। कार्यक्रममा उपस्थित भएका सम्मानीत नेता खनाल र नेतृ झाँक्री तथा एमालेका नेताहरुबीच देखिएको हार्दिकताले भने आम कार्यकर्तामा उत्साह छाएको टिप्पणी भईरहेको छ ।

त्यसोत पार्टीको अन्तर संघर्षमा रहेका खनाल र झाँक्री दुबै नेता एमालेमै फर्किने दाबी गर्दै आएका छन् । एमालेका नेताहरुले । केही चरणमा छलफल भएपनि अन्तिम निष्कर्षमा भने पुगिनसकेको नेताहरु बताउँछन् । झाँक्री नेकपा एसमा लामो समयदेखि असन्तुष्ट रहेकी छन् । बुधबार च्यासलमा एमाले नेताहरुसँग देदिएको झाँक्रीको हार्दिकताप्रति धेरैले उनी एमालेमा फर्किन लागेको संकेत भनेका छन् । यद्यपि उनले भने हालसम्म मुख खोलेकी छैनन् ।

भने, एमाले फुटाएर नयाँ दल बनाएका नेपाललाई पनि पार्टी जोगाउन हम्मेहम्मे परिरहेको छ । संघीय निर्वाचनमा समानुपातिक तर्फ २० लाख मत ल्याएर पहिलो पार्टी बन्ने दाबी गरेको एकीकृत समाजवादीले आम चुनावमा सत्ता गठबन्धनको फेर समायर १० स्थान हात पारेपनि समानुपातिकतर्फ ३ लाख मत नपाउँदा राष्ट्रिय पार्टीको समेत मान्यता पाउन सकेको छैन । भने हालसम्म १५ भन्दा धेरै जिल्लाका अध्यक्ष, ३० भन्दा धेरै केन्द्रीय सदस्यहरु नेपालबाट समाजवादी पार्टी नचल्ने देखेर पुरानै घर एमाले फर्किसकेका छन् । जसमा तेस्रो वरियतामा रहेका मुकुन्द न्यौपाने उपाध्यक्ष केदार न्यौपाने, चुडामणि जंगलीलगायतका छन् । file photo



प्रतिक्रिया दिनुहोस्