Logo

रिगललाई आममाफी दिनेहरुले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने राप्रपा प्रवक्ता श्रेष्ठको माग



काठमाडौं, १७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने सरकारका सम्बन्धित व्यक्तिहरुले क्षमायाचना गर्नुपर्ने माग गरेका छन् । ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि सिफारिस गर्ने र कार्यान्वयन गर्नेले सार्वजनिक रुपमा क्षमायाचना गर्नेपर्ने उनको माग छ ।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन–

रिगल जस्तो जघन्य हत्याका दोषीलाई आममाफीका नाममा उन्मुक्ति दिने, दण्डहिनतालाई प्रश्रय दिने र अपराधीलाई राजनीतिक संरक्षण प्रदान गर्नेहरुलाई सर्वोच्च अदालतको हिजोको फैसलाले त्रुटिपूर्ण मात्रै भनेन, यस्तो कार्य दोहोऱ्याउन ब्रेक लगाइदिएको छ। आममाफी प्रकरणमा सिफारिश गर्ने, सिफारिश कार्यान्वयन गर्ने, प्रस्तावमा संलग्न हुनेहरुले राज्यका तर्फबाट सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्दैन ? अदालतको फैसलाले कानुनका छिद्र खोजेर हुकुमी शैली र स्वेच्छाचारिता देखाउनेहरुमाथि गम्भीर नैतिक संकट सिर्जना गरिदिएको छ। सुसंस्कृत राजनीतिमा जवाफदेहीताको सम्मानजनक स्थान हुन्छ। कुनै विषयमा जवाफ दिन नपर्ने, जवाफदेही र थोरै नैतिक पनि हुन नपर्ने गरी हाम्रो राजनीति यति निकृष्ट भइसकेको हो र ?



प्रतिक्रिया दिनुहोस्