काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ ।
उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।होटल सोल्टीमा मुकाम रहेको छुङछेङको टोलीले आजैबाट उच्चस्तरीय भेटघाट थाल्दैछ ।
दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटको कार्यक्रम छ । साँझ उनीहरुको स्वागतका लागि चिनियाँ दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने र भोलि बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने र मुस्ताङ्ग कोरोला नाका सुचारु गराउने कार्यक्रम छ ।
प्रधानमन्त्री भेटेलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता यादवसंग भेटघाट गरेर दिउँसो चिनियाँ टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेट्ने छ । साँझ अध्यक्ष तिमल्सिनाले आयोजना गर्ने रात्रिभोजमा उनीहरु सरिक हुनेछन् ।
उनले यसका अतिरिक्त विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यसूची तय गरिएको बताईएको छ ।