काठमाडौं, २२ कात्तिक । वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट एक–एक लाख १६ लाख र नगरपालिकाकातर्फबाट १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकममध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाको गरी जम्मा रु २६ लाख भूकम्प प्रभावितको पुनःस्थापना कोषमा सहयोग गरिने बताईन् ।
वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।