काठमाडौं,२३ कार्तिक । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन गत जेठ १५ गते चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर नरसंहारमा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या भएको थियो । थरुहट आन्दोलनका क्रममा उनीहरुको निर्ममतापूर्वक ८ सुरक्षाकर्मी र एक बालकको हत्या गरेका थिए । सोही घटनाका प्रमुख योजनाकार भन्दै कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतमा गरिएको पुनरावेदनलाई पनि रेशमलाल चौधरीको हकमा सर्वोच्चले उच्चकै फैसला सदर गरिदिएको थियो ।