काठमाडौं, २३ कात्तिक । आम जनता पार्टी (आजपा) ले आरती साह मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ । आज (बिहिबार) आजपाको नेतृत्वमा आरतीकी आमासहित उपस्थित भई आयोगमा ज्ञापन पत्र बुझाइएको हो ।
आरतीको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका शंकास्पद देखिएको आजपाको ज्ञापनपत्रमा उल्लेख छ । सुरुमा जाहेरी दर्ता गर्नसमेत इन्कार गरेपछि प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान अगाडि बढाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
आरतीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै पीडित परिवारमाथि ज्यादती गरेको बताईएको छ ।
ज्ञापन पत्रमा गत असार १ रातिदेखि काठमाडौंको बबरमहलस्थित माइतीघर मण्डलामा धर्नारहेका आरतीका बाबुआमालाई पनि प्रहरीले पटक–पटक धरपकड गरेको उल्लेख छ ।
आरतीका बाबुआमाले न्यायका लागि संघर्ष गर्दा लामो समयसम्म पनि न्याय नपाउनुले कानूनी राज्यमा आम सर्वसाधारण जनताको न्यायको पहुँचमा छैनन् भन्ने कुरा स्पष्ट भएको ज्ञापन पत्रमा उल्लेख छ ।
आफूहरु न्यायको लागि अन्तिम विकल्पको रुपमा आयोगको कार्यालय आउन बाध्य भएको बताइएको छ । आरतीकी आमाले अयोगका अध्यक्ष तपबहादुर मगरसँग दुई हात जोडेर भक्कानिँदै न्यायका लागि अपिल गरिन् ।
आफूहरुले न्याय माग्दै सात महिनादेखि संर्घष गर्दा पनि सरकारले बेवास्ता गरेको आरतीकी आमाको गुनासो छ । उनले सडकमै मरेपछि न्याय दिने हो ? भन्दै आयोगका अध्यक्षसँग प्रश्नसमेत राखिन् ।