काठमाडौं,२४ कार्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज (शुक्रबार) अन्तरिम आदेश जारी गर्दै मौलापुरकी मेयर साहलाई पदमा यथावत रही कामकारबाही गर्न भनेको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८०।६।२९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउनू र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला, मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारवाही गर्न दिनू भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९२० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’– आदेशमा भनिएको छ ।
मेयर साहलाई नेकपा (एमाले) ले अर्को पार्टीमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो । एमालेको सिफारिसमा आयोगले मेयर साहलाई पदमुक्त गरेको थियो ।
आयोगको निर्णयविरुद्ध मेयर साहले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन् । उनको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले उनको पद पुनर्वाहाली गरेको हो ।