काठमाडौं,४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता पूर्व सांसद गोपाल बम एमाले प्रवेश गरेका छन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष ओलीलगायतले पार्टीमा स्वागत गरेका छन् ।
बम २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुगुबाट निर्वाचित भएका थिए २०७८ मा एमाले विभाजन भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका उनी संसद विघटनविरुद्धको रिट र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सर्वोच्चमा पुग्ने २३ सांसदमध्येका एक हुन् ।
एमाले प्रवेश गरेका बमले आफूले पार्टी विभाजनको बेला एकीकृत समाजवादी रोज्नु भूल भएको र एमालेबाहेक अन्य कुनैपनि पार्टीले देशको विकास गर्न नसक्ने निश्कर्ष निकाल्दै पुरानै घर एमाले फर्किएको बताए ।
बमसमेत एमाले प्रवेश गरेपछि दुई वर्षअघि पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएका पूर्व प्रधानमन्त्री तथा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाललाई भने आफ्ना कार्यकर्ता जोगाउन हम्मेहम्मे परेको छ ।