काठमाडौं,५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानले मंसिर ७ गते गर्न लागेको प्रदर्शनलाई सफल बनाउन ८६ जना संयोजक तोकेको छ ।
अभियानका प्रमुख दुर्गा प्रसाईले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नेगरी उनीहरुलाई संयोजक तोकेका हुन् ।
गणतन्त्र उल्ट्याउने दाबीसहित प्रसाई नेतृत्वको अभियानले मंसिर ७ गते प्रदर्शन गर्दैछ । सोहीदिन नेकपा एमाले निकटको राष्ट्रिय युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्दैछ ।
दुबै समूहले एकैदिन माईतीघर मण्डलामा प्रदर्शन गर्नेभन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति माग गरेका थिए । पछिल्लो दिनहरुमा एकअर्काविरुद्ध खुलेरै उत्रिएका दुबै समूहलाई एउटै स्थानमा कार्यक्रम गर्न दिँदा मुठभेड हुने भन्दै प्रशासनले सोमबार माईतीघर मण्डलामा ३० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले माईतीघरलाई निषेधित क्षेत्र तोकेर युवा संघलाई तिनकुने र प्रसाईको समूहलाई बल्खुमा कार्यक्रमका लागि अनुमति दिएको थियो । १० लाख मान्छे काठमाडौं उतार्ने प्रसाई समूहले दाबी गर्दै आएको छ ।