काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले छिमेकी देशहरुसँग पारस्परिक सम्मानसहितको सुसम्बन्ध चाहेको बताएका छन् । आज (बुधबार) पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेले छिमेकी राष्ट्रहरुसँग बैमनस्यता नचाहेको बताएका हुन् । साथै, उनले सुमधुर सम्बन्धका नाममा आत्मसमर्पण, सार्वभौमसत्तामा ठेस लाग्ने काम र राष्ट्रिय हितलाई तिलाञ्जली दिन नसकिने बताए ।
‘हामी हाम्रा छिमेकीहरुसँग किञ्चित पनि झगडा गर्न चाहँदैनौं । झगडा गर्ने सोचनै राख्दैनौं । हाम्रा छिमेकीहरुसँगको बैमनस्यता नेपालको हितमा हुनै सक्दैन । त्यसकारण हामी बैमनस्यता र मनमुटावको बाटौ हिँड्न चाहँदैनौं । हाम्रा छिमेकीसँग हामी सुमधुर सम्बन्ध चाहान्छौं ।’ ओलीले भने, ‘तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर, स्वाधीनता, स्वाभिमान छोडेर, सार्वभौमसत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुढ्याएर सम्बन्ध सुमधुर हुने होईन । अन्याय सहेर सुमधुर सम्बन्ध हुने होईन ।’
अहिले देशका स्वाधीनता अपहेलित, अपमानित र तिरस्कृत भएको उनको भनाई छ । गएको अढाई वर्षका बीचमा यो परिस्थिति निर्माण भएको उनको दाबी छ । अहिलेको गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा भन्दा पनि सत्ताको खेलमा रुमलिरहेको उनको टिप्पणी छ । Photo/ video By: Mukunda Kalikote/RN