काठमाडौं,८ मंसिर । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको दाबी गरेका छन् ।
अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले नजरबन्दमा राखेको प्रचार भएपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजिअ बस्नेतले उनी काठमाडौं छिरेदेखि नै सुरक्षा दिईरहेको दाबी गरे ।
‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो। यस्ता गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन। उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ,’ उनले भने।
उनले काठमाडौं उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा भएको बताए । प्रसाईं समूहले कार्यक्रम गर्न अनुमति लिनुपर्नेमा उल्टै कानूनलाई चेतावनी दिएको बस्नेतको भनाइ छ ।
‘काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएका छौँ। काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ। संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भइ शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानून हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ,’ उनले भने।