काठमाडौं,८ मंसिर । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रभावकारी सेवा प्रवाहका निम्ति कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।
पुरानो कार्यशैली र संरचना तथा परम्पराका नाममा हुने कार्यप्रणालीले दैनिक कार्यालय सञ्चालन भए पनि प्रभावकारी सेवा प्रवाह हुन नसकेको उनीहरूको विश्लेषण छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्ययोजना तर्जुमा नगरी गरिने कामबाट निर्धारित लक्ष्य हासिल गर्न नसकिने बताए । धेरै संस्थाका बारेमा कार्ययोजनाबिना काम अघि बढाइँको, प्रक्रिया मिचेको र प्रक्रियागत त्रुटिलाई लिएर पनि उजुरी परेपछि आयोगले छानबिन गरेको प्रमुख आयुक्त राईले बताए । “उजुरी परेपछि कार्यालयको काम गर्न मनोबल घट्छ । मानसिक तनाव हुन्छ तर डराउनुपर्दैन । नियमअनुसार प्रक्रिया पुगेका विषयमा अख्तियार अनुसन्धान आयोगले सामान्य सोधपुछ गरेर टुङ्ग्याउने गरेको छ, ”प्रमुख आयुक्त राईले भने ।
कार्यक्रममा आयोगका आयुक्तहरु किशोर सिलवाल, हरि पौडेल, सुमित्रा श्रेष्ठ अमात्य र जयबहादुर चन्दले सार्वजनिक संस्थानको पुनःसंरचना र सुधारको कार्ययोजना आवश्यक भएको बताए । आयोगका सचिव रामेश्वर दङ्गाल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलगायत वक्ताले सार्वजनिक संस्थान सुधारका लागि नीतिगत सुधारसँगै योजना कार्यान्वयन गर्न आवश्यक भएको बताए ।