काठमाडौं, १० मंसिर । पहिचानवादीहरुले नेकपा (एमाले) का सचिव योगेश भट्टराई सवार गाडी तोडफोड गरेका छन् । गृह जिल्ला ताप्लेजुङको फुङलिङमा भट्टराई सवार गाडीमा पहिचानवादीहरुले तोडफोड गरेका हुन् । पहिचानवादीहरुले ढुंगामुढा गर्दा भट्टराईको गाडी सिसा फुटेको छ ।
गृह जिल्लामा रहेका सचिव भट्टराईको निवास अगाडि आज विहान पहिचानवादीहरुले कालो झण्डा देखाउँदै प्रदर्शनसमेत गरेका थिए । कालो झण्डासहित प्रदर्शनपछि प्रदर्शनकारी र एमालेको युवा संगठन राष्ट्रिय युवा संघबीच झडप भएको थियो । उनीहरुले आज एमाले कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । पहिचानवादीहरुले गत असार १ गते विज्ञप्ति जारी गर्दै भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने उद्घोष गरेका थिए ।
पहिचानवादी नेताहरुले भट्टराई पहिचान विरोधी नेता भएको आरोप लगाउँदै आएका छन् । उनीहरुले कोशी प्रदेश नाम खारेज हुनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामांकन गरिनुपर्ने बताउँदै आएका छन् ।
एमाले सचिव भट्टराई गृह जिल्ला आएको बेला त्यहाँको पार्टी कमिटीले चियापान कार्यक्रम आयोजना गरेको थियो । चियापान कार्यक्रममा सांसद उर्मिला थेबे, प्रदेश सांसद तिलकुमार मेन्याङवो लगायतका नेताहरु पनि सहभागी थिए ।