काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको कन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले आफ्नो प्रतिवेदन पेश गरेका हन् ।
लामिछानेले आफ्नो प्रतिवेदनमा देश मध्यावधिमा जान सक्ने आाशंकासमेत व्यक्त गरेका छन् । ‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने रु सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला रु पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई स्ट्यान्डबाइ रहन निर्देशन दिन्छु’। उनले प्रतिवेदनमा भनेका छन् ।
उनले रास्वपाले गत निर्वाचनमा चितवनमा पाएको ७५ प्रतिशत मतलाई क्रान्तिको सन्देश भनेका छन् । ‘चितवनको निर्वाचन क्षेत्र नं। २ मा हामीले ७५ प्रतिशत मत पायौं । त्यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि एउटै दलले दुई तिहाइ बहुमत ल्याउन सम्भव छ भन्ने संकेत चाहिँ गर्छ । कुनै एउटा दलले दुई तिहाइ बहुमत ल्याउँदा अहिलेका विकृति विसंगति नियन्त्रणसहित नागरिकका आकांक्षा पूरा गर्ने गरी सबै किसिमका परिवर्तनको ढोका खोल्न सकिन्छ नै ’।
‘यो देशमा पटकपटक राजनीतिक आन्दोलन भए । मानिसको रगत बग्यो । कैयौं सहिद भए । तर, २०७९ को संघीय निर्वाचनमा चितवनले प्रचलित क्रान्तिको परिभाषा नै बदलिदियो । विगतका क्रान्तिहरूमा अनुहारमा आक्रोश र हातमा ढुंगा मुढा, हतियार हुने गर्थे । तर चितवन क्रान्ति मा अनुहारमा मुस्कान र हातमा फूल थिए । यसरी चितवनवासीले ‘लाल’ होइन ‘निलो क्रान्ति’ गरिदिए । चितवनले राजनीतिमा नवीन परिवर्तनको बाटो देखाइदियो । त्यसको सन्देश देशव्यापी हुँदा पार्टी स्थापनाको करिब ६ महिनामैं हामी मुलुकको चौथो राजनीतिक शक्ति भयौं । हामीले विश्वास र अभ्यास गर्ने चितवन मोडेलको आन्दोलन हो । र, चितवनले स्थापित गरेको ‘निलो क्रान्ति’ को मोडेल देशव्यापी बनाउने चुनौतीमै निहित हुने छ हाम्रो आउँदो यात्रा’ । उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।