Logo

कमल थापाको स्पष्टोक्तिः ‘हामीले निरंकुश राजतन्त्र चाहेको होईन’ (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरुले निरंकुश राजतन्त्र नचाहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले राजासहितको प्रजातन्त्रको कुरा गरेको बताएका हुन् । उनले आफूहरुले चाहेको व्यवस्थामा राजा अभिभावकको रुपमा रहने र शासन चाहीँ जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्ने गर्ने उनले बताए । राप्रपा नेपाल लोकतन्त्रलाई समाप्त पारेर निरंकुशतातर्फ जान नखोजेको उनको दाबी छ ।

‘एउटा भ्रम छ, त्यो के हो भने अहिलेको गणतन्त्रात्मक व्यवस्था अन्त्य गरेर वा निरंकुशता ल्याउन हामी खोजिरहेका छौं भन्ने भ्रम पारिएको छ । खासगरी गणतन्त्र पक्षधर नेताहरुले, बुद्धिजीविहरुले के भनिरहुन भएको छ भने प्रजातन्त्रको विकल्प छैन, अब निरंकुशतन्त्रमा जान सकिँदैन, राजतन्त्रमा जान सकिँदैन भन्ने तर्कहरु गरिरहनु भएको छ ।’ उनले भने, ‘यसलाई म के खण्डण गर्न चाहन्छु र प्रष्ट पार्ने चाहन्छु भने– हामीले राजसंस्था स्थापना गर्नुपर्छ भनेर निरंकुश राजतन्त्रको कुरा गरेको होईन । हामी राजासहितको प्रजातन्त्रको कुरा गरिराखेका छौं । एउटा नैतिक अभिभावकको रुपमा राजसंस्था र जनताबाट निर्वाचित जनप्रतिनिधिले राज्य सञ्चालन गर्ने साशन व्यवस्थाको कुरा गरिराखेका छौं । त्यस कारण यो भ्रमबाट मुक्त हुनुपर्छ की हामीले प्रजातन्त्र वा लोकतन्त्रलाई समाप्त पारेर निरंकुशतन्त्रतर्फ जान खोजेको होईन ।’

माओवादीको १० वर्षे जनविद्रोह र १९ दिने आन्दोलनले विजय हासिल गरेर राजसंस्था समाप्त नभएको उनको दाबी छ । २०६३ सालको १९ दिने आन्दोलन दरबार र आन्दोलनकारी दलबीच सहमति भएर टुंगिएको उनले बताए । जनआन्दोनले राजसंस्थालाई पाखा लगायो भन्ने कुरामा कुनै सत्य नरहेको उनले बताए । १७ वर्षको अभ्यासमा जनताले चाहेको परिणाम प्राप्त हुन नसकेको उनले बताए । प्रजातन्त्रको विकल्प अझ सुदुढ प्रजातन्त्रनै भएको उनको दाबी छ ।

२०३३ सालमा राजा, राजसंस्था र प्रजातन्त्रसँग जानुपर्छ भन्ने मान्यताका साथ विपी कोईरालाले मेलमिलापको नीति ल्याएको उनले बताए । २०४७ सालको आन्दोलनपछि मदन भण्डारीले राजासँग सहकार्य गरेर जान सकिन्छ भन्ने मान्यताका साथ जनताको बहुदलीय जनवादलाई प्रतिवादन गरी एमालेलाई अगाडि बढाएको उनले स्मरण गराए । वर्तमान प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत कम्बोडियाको मोडेलको राजतन्त्रलाई स्वीकार गरेर अगाडि जान सकिन्छ भन्ने कुरा व्यक्त गरेको उनको दाबी छ । साथै, बाबुराम भट्टराईले सांस्कृतिक राजसंस्था स्थापनाको लागि आपत्ति नरहेको अभिव्यक्ति दिएको उनले स्मरण गराए । अहिलेका राजनीतिक दललाई राजसंस्थाप्रति आपत्ति नरहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्