काठमाडौं, १८ मंसिर । २०७७ जेठ १० गते ६ जनाको हत्या भएको सोती घटनामा दोस्रो दिन पनि पीडिततर्फका वकिलहरूको बहस हुने भएको छ।
२०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आइतबारदेखि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । आइतबार पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए। सोमबार पनि त्यही संख्यामा वकिलहरूले बहस गर्ने अनुमान छ।
मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने अदालतले जनाएको छ। मुद्दाको अन्तिम फैसला आउन भने केही दिन लाग्नेछ।
जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।
उनकी प्रेमिका मल्ल थरकी थिईन् । नवराज र ती मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध भएपनि जात नमिल्ने भएकाले विवाह हुन नदिने आफन्तको तयारी थियो । अर्कोतर्फ नवराज विक लगायत आउँदै गरेको कुरा युवतीको घरमा थाहा थियो । युवतीका आफन्तले सोही वडाका तत्कालीन वडाअध्यक्ष डम्बरबहादु मल्लसँग सल्लाह लिएर जसरी भएपनि विवाह हुन नदिने योजना बनाए ।
सोही योजना अनुसार उनीहरुले नवराज विक, उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको निर्ममतापुर्वक हत्या गरे । गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।
उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।