काठमाडौं,१८ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा आगामी माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनको नयाँ मिति तय गर्ने बताईएको छ । नेकपा एसले आगामी १४ माघ देखि १८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यस समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले महाधिवेशनको मिति सर्ने नेताहरुले बताएका छन् ।
आजको बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफलसमेत हुनेछ ।
पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।
बैठकले अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गर्नेछ ।