काठमाडौं,२१ मंसिर । राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई जोडतोडका साथ उठाउँदै आएको राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती धुमधामले मनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती भब्यरुपमा देशैभर मनाउने निर्णय गरेको हो ।
त्यस्तै राप्रपाले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने पनि निर्णय गरेको छ । यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने पनि राप्रपाको निर्णय छ ।
आजकै बैठकले इलाम २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट तयारी गर्न हेमजङ गुरुङलाई जिम्मा दिइएको छ । इलाम २ बाट निर्वाचित सांसद तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गेत निधन भएको थियो । उनको निधनपछि इलाम २ रिक्त रहेको छ । आयोगमा त्यहाँ बैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
यसैगरी राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ । सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्ने श्रेष्ठको भनाइ छ ।
तस्विरहरु- मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम