काठमाडौं, २१ मंसिर । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अस्थायी संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् । उनले अहिलेको सत्ता, व्यवस्था र राजनीतिक दलहरु असफल भएको दाबीसमेत गरेका छन् ।
आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको संसदीय व्यवस्था असफल भएको भन्दै तत्काल अस्थायी संयुक्त सरकार गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । तर, अब बन्ने अस्थायी सरकार भने क्रान्तिकारीबिच ध्रुवीकृत गरी बनाउनुपर्ने उनको धारणा छ ।
उनले भने,‘जनजीविकाको विषयमा सरकारले काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, अहिले दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन ।’
यसअघि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि तत्काल अहिलेको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । साहले त संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि भन्दै शव–यात्रा निकालेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम