Logo

नेपाल बैंकको सीईओ नियुक्तिमा ढिलाइ हुँदा ठूला ऋणदाता मारमा



काठमाडौं,२१ मंसिर । नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी संस्था नेपाल बैंक लिमिटेड लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन रहेको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णप्रसाद अधिकारी गत असोज १४ गते आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि नेपाल बैंकमा सीईओ पद रिक्त रहेको छ ।

अधिकारी २०७४ साल असोज १४ गते ४ वर्षका लागि नेपाल बैंक लिमिटेडको सीईओमा नियुक्त भएका थिए । अधिकारी सीईओबाट बिदा भएपछि हाल कार्यवाहक सीईओको जिम्मेवारी समता पन्तले सम्हालिरहेकी छन् ।

पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा राजनीतिक आस्था र भागबन्डाका आधारमा नियुक्ति गरिने हुँदा प्रमुख पदहरुमा सजिलैसँग पदपूर्ति हुन सकेको छैन ।

बरु यसअघि बसेको सञ्चालक समितिको बैठकले आनन्द कार्कीको संयोजकत्वमा ३ सदस्यीय सीईओ छनोट समिति बनाउने निर्णय गरेको थियो । समितमा १९ जनाले सीईओमा आवेदन दिएका छन् । तर, उक्त समितिले पनि हालसम्म उल्लेख्य प्रगती भने गर्न सकेको छैन । यसरी सीईओका लागि आवेदन दिनेहरुमा अशोक पौडेल, लक्ष्मण पौडेल,सुन्दर पन्थी, राजुनाथ खनाल, ध्रूव गौतम, समता पन्त, कृष्ण आचार्य, देवेन्द्र लोहनीलगायत रहेका छन् ।

सीईओका लागि कायम मुकायमको जिम्मेवारी सम्हालिरहेकी पन्तसहित अन्य बैंकका चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल, चिफ अपरेटिङ अफिसर विश्वराज बराल, चिफ एड्मिनेष्ट्रेटिभ अफिसर प्रकाश कुमार अधिकारी र चिफ फाइनान्स अफिसर होमवहादुर खड्का प्रवल दावेदार मानिएका छन् ।

नेपाल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना १९९४ कार्तिक ३० गते भएको हो । नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो । यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो ।

झण्डै ९ दशकको इतिहास बोकेको बैंकमा पछिल्लो समय राजनीतिक गतिविधि तीव्र हरुादा राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृत्ति मौलाएको छ । जसको प्रत्यक्ष मारमा बैंकका साथै सपूर्ण सेवाग्राहीसमेत परेका छन् ।

सीईओ नियुक्तिमा ढिलाइ हुँदा ठूला ऋणदाताहरु मारमा परेका छन् । बैंकहरुको मनोमानी ढंगले बढिरहेको कर्जाको ब्याजदरले चर्को मार खेपिरहेका ठूला ऋणदाताहरुले सीईओ नहुँदा झनै समस्यामा परेको गुनासो गर्ने गरेका छन् । तीव्र आर्थिक संकट र बढ्दो ब्याजदरको मार खेपेर यतिञ्जेल आफ्नो व्यापार व्यवसाय सम्हालिरहेका ठूला ऋणदाताहरु अब तत्काल सीईओ नियक्ति होस् भन्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्