Logo

बालाचतुर्दशीको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (फोटोफिचर)



काठमाडौं, २४ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशी पर्वको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको छ ।

आफ्ना दिवंगत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने चलन रहेको छ । सोही परम्पराअनुसार आज रातभर बत्ति बालेर भोलि (सोमबार) विहान शतबीज छर्ने गरिन्छ ।

कोषले भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइएको बताएको छ ।

यसैगरी, मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।

मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँ ठाउँमा सिसी क्यामेरा जोडिएको छ ।

बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्करूपमा (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको बताइएको छ । यसैबीच, कोषका पदाधिकारी, गौशला प्रहरीको टोली लगायतले बत्ती बाली बस्ने स्थान वरपरको अवलोकन गरिसकेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्