काठमाडौं, २७ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने बताएका छन् । उनले कोशी नामाकरण खारेज गरेर किरात राखिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न मन्त्रीहरुलाई भेट्नका लागि काठमाडौं आएको मेयर साम्पाङले यस्तो बताएका हुन् ।
हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पहिचानको कुरा आफूले गलत नमान्ने बताए । उनले अरुको अस्तित्व स्वीकार गर्दा आफ्नो पनि अस्तित्व मानिदिनुपर्ने बताए ।
‘पहिचान भन्ने कुरा गलत हो भन्दिन म त । तपाईँको पहिचान छ कि छैन ? तपाईँको पहिचान छ भने मेरो पनि होला । अनि तपाईँको मात्रै मान्दिनुपर्ने, मेरो चाहीँ नमान्ने ? त्यसैले सहअस्तित्व र सहपहिचानका कुराहरु सबैले सम्मान गर्नुपर्छ । राज्यमा सबैको सम्मान हुनुपर्छ,’– उनले भने ।
साथै, नेपालमा अहिले गणतन्त्रको विकल्प खोज्ने बेला नभएको उनले बताए । उनले यही ब्यवस्थामा रहेर जनप्रतिनिधि बनेकाहरुले यो ब्यवस्थाको विरोध गर्न नहुने बताए । धरान आउने मान्छेले आफूलाई नभेटी कोही पनि नजाने गरेको उनले बताए । आफूबाट पब्लिकले धेरै अपेक्षा राखेको उनले बताए । आफ्नो सादगी जीवन, निष्ठा, प्रतिष्ठाको कारण जनताले धेरै मन पराएको उनले बताए ।