दमौली, २७ मङ्सिर । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ ।
उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेपश्चात् निर्माण कम्पनीले काम सुरु गरेको हो ।
सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका–१३ सोढेंँसम्म दश किलोमिटर खण्ड आक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । कूल ३२ किलोमिटर दूरीमध्ये चालु आर्थिक वर्षमा दश किलोमिटर कालोपत्रका लागि बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिए । सडक कालोपत्रका लागि भ्याटसहित ३४ करोड २७ लाख ४५ हजार पाँच सय ६१ मा मैनाचुली÷सफल जेभी काठमाडौँले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ ।
विसं २०७९ भदौ २७ गते सम्झौता गरी विसं २०८२ जेठ ३० गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता बमोजिम आक्सफाल्ट प्रविधिको कालोपत्र, पक्की नाला, कटिङ र कल्भर्ट निर्माण गरिनेछ ।आगामी असार मसान्तसम्म पक्की नाला निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधिका विष्णुराज तिवारीले जानकारी दिए । उनले भने, “पक्की नाला निर्माणका लागि अभाव नभएको हुँदा धमाधम काम भइरहेको छ । नाला सकिएछि कालोपत्रको काम सुरु हुनेछ ।”
गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ ।
गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर यो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन ।
घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिएको छैन । गत हप्ताबाट मात्रै घुमाउनेमा पनि पुल निर्माणको काम सुरु भइसकेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ जोड्ने गरी त्रिशूली नदीमा निर्माण सुरु भएर अलपत्र बनेको पुलको काम पुनः सुरु भएको हो । पुल निर्माणको ठेक्का पाएको मृत सञ्जीवनी कन्स्ट्रक्सनका प्रतिनिधि सुवास उप्रेतीले छिटो काम सम्पन्न गर्ने कामलाई गति दिइएको जानकारी दिए ।
विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । एक सय पाँच मिटर लम्बाई रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ ।
उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडक भन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । रासस