काठमाडौं, २७ मंसिर । कांग्रेसइतर समूहको बैठक जारी रहेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा सुरु भएको बैठकमा महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । पार्टीको १४औं महाधिवेशनमा शेखर प्यानलबाट उम्मेदवारी दिएर महामन्त्री बनेका थापाको अहिले शेखर कोइरालासँग सम्बन्ध चिसिएको छ । महामन्त्री थापाले छुट्टै गुट निर्माण गर्न लागेको भन्ने हल्ला चलिरहेको अवस्थामा उनी आजको बैठकमा सहभागी भएका हुन् ।
महामन्त्री थापा र शेखरबीच गत वर्ष सम्मपन्न आम निर्वाचनदेखिनै सम्बन्ध बिग्रिएको हो । महामन्त्री थापा आफैं संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कोशिस गरेपछि शेखर तगारो बनेको गगन निकट स्रोतको दाबी छ । संसदीय दलको निर्वाचनमा शेखरले आफू निकट पाँच सांसदहरुको भोट पनि पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा हाल्न लगाएको गगन समूहको आरोप छ । त्यस्तै, गठबन्धन सरकारमा शेखरले आफ्नो लागिमात्रै सभापति देउवासँग बार्गेनिङ गरेको बताइएको छ । शेखरकै कारण गगन निकटका कोही पनि नेताहरु मन्त्री नबनेको उनी निकट स्रोत बताउँछ ।
त्यस्तै, कोशी प्रदेशमा शेखरले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको कुरामा पनि गगन असन्तुष्ट छन् । शेखरले हिजोको बैठक बोलाएको भएपनि गगन नआउने थाहा पाएर बैठक आजलाई सारेका थिए । गगनका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग सल्लाह गरेर शेखरले हिजोका लागि निर्धारित बैठक सारेका थिए ।
आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन, पार्टीको महासमिति बैठक र समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल हुने बताइएको छ ।