काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश दुवै ठीक ढंगले चल्न नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) संस्थापनइतर समूहको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आजको बैठकमा पार्टी देश दुवै ठीक ढंगले नचलेको बारे छलफल भएको बताएका हुन् ।
‘नेपाली कांग्रेस ठीक चलिराखेको छैन, देश ठीक चलिराखेको छैन भन्ने कुरा गरेको हो हामीले,’– नेता कोइरालाले भने ।
कांग्रेसइतर समूहका महिला पनि मतमतान्तर नरहेको उनले बताए । हिजोको बैठक महामन्त्री गगन कुमार थापा सहभागी हुन नसक्ने भएपछि सारिएको उनले बताए । एजेण्डामा महामन्त्री थापा र आफूबीच एक इन्च पनि फरक नरहेको उनले बताए ।
साथै, उनले संस्थापनइतर समूहको बैठकलाई मिडियाहरुले अतिरञ्जित गरेर प्रचार गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे । मिडियामा आएजस्तो महामन्त्री थापा र आफूमा एजेण्डामा मतभेद नरहेको उनको दाबी छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटका सन्दर्भमा संसदीय दलको बैठक बसेर मापदण्ड बनाउन उपयुक्त हुने उनले बताए । File Photo/RN