काठमाडौं, २८ मंसिर । ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल बिक्री तयारीमा भन्ने समाचार भाइरल भएपछि यसका अध्यक्ष डा. उपेन्द्र महतोले उक्त समाचार शतप्रतिशत झुटो रहेको दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा महतोले मेडिसिटी अस्पताल बिक्रीको तयारी गरेको र अन्तिम डिल हुन बाँकी रहेको भन्ने समाचार सञ्जालमा भाइरल भएको थियो । त्यसको भोलिपल्ट डा. महतोले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उक्त समाचार शतप्रतिशत हावा भएको प्रतिक्रिया दिए । उनले भने,‘यो समाचार हावा हो । यसमा कुनै सत्यता छैन् ।’
उनले मेडिसिटी अस्पताल आफ्नो ड्रिम प्रोजेक्ट भएको भन्दै सपनामा पनि मेडिसिटी बेचेको नदेख्न भनेका छन् । १०५० बेडमा अहिले ७५० बेड सञ्चालनमा रहेको मेडिसिटीले पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गरेको छ । अहिले जनताको पहिलो रोजाईमा मेडिसिटी परेको छ ।
महतोले धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल अस्पतालको पनि बहुमत शेयर किनेका छन् । यस्तै, काठमाडौंको चावहिलमा रहेको मेडिकेयरमा पनि उनको लगानी छ । काठमाडौं बाहिर भने उनले आफ्नी आमाको नाममा गृहजिल्ला कर्जन्हामा फूलकुमारी महतो मेमोरियल अस्पताल सञ्चालन गरेका छन् । मधेश प्रदेशको विजनेस हब मानिएको वीरगञ्जमा मेडिसिटी बयोधा अस्पताल सञ्चालनमा छ । महतोले निकट भविष्यमा मधेश प्रदेशको राजधानी जनकपुरमा मेडिसिटी जनकपुर खोल्ने तयारी गरेका छन् ।