काठमाडौं,२८ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आसन्न महासमिति बैठकको तयारीमा जुटेका छन् ।
कांग्रेसको यहि पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकका लागि उनीहरूले अहिले प्रस्ताव तयारीको काम गरिरहेका छन् ।
महामन्त्री थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका छन् ।
दुवै प्रस्तावलाई मिलाएर अन्तिम रूप दिन दुवै महामन्त्री छलफलमा जुटेको महामन्त्री थापाको सचिवालयले जनाएको छ ।
उनीहरूले आजै प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलि बस्ने कार्यसमिति बैठकमा प्रस्तुत गर्ने बताइएको छ । कांग्रेसको महासमिति बैठक सर्ने चर्चा पनि छ । तर, दुवै महामन्त्री बैठक सार्न नहुने पक्षमा छन् ।