काठमाडौं, १ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन् । उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोजेको आरोप लगाएका छन् । डा. केसीको उक्त कार्यको सर्वत्र विरोध हुनुपर्ने उनको भनाई छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर डा. केसीले कुनै शक्ति र स्वार्थको पृष्ठपोषण गर्न खोजेको समेत उनले आशंका ब्यक्त गरेका छन् ।
‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न।सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ,’– नेता रावलले सामाजिक सञ्जालमा भनेका छन् ।
मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा गत शुक्रबारदेखि अनशन बस्न पुगेका डा. केसीलाई त्यहाँ अवरोध गरिएको थियो । गेटामा अवरोध भएपछि अहिले उनी सोही स्थानको एक मन्दिरमा अनशन बसिरहेका छन् ।