Logo

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न: बाउको पालाको उजुरी नातिको पालामा पनि सकिँदैन यो कसरी अन्त्य गर्ने ?



काठमाडौं,२ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलको सुनुवाइ जारी छ ।

सोमबार बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिमा पोखरेल समितिका सदस्यहरुबीच सवाल जवाफ जारी छ । प्रस्तावित न्यायाधीश पोखरेललाई ८ सदस्यले विभिन्न प्रश्न गरेका छन् ।

पोखरेललाई सांसदहरुले न्याय प्रक्रियामा ढिलाई भएको, पेशीको व्यवस्थापनमा चुनौती रहेको फैसला कार्यान्वयनमा तदरुकता नदेखाएको, फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाई हुने लगायतका विषयमा प्रश्न गरेका छन् ।

पोखरेललाई प्रश्न गर्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले बाउको पालामा हालेको उजूरी नातीको पालामासमेत हल नहुने समस्या रहेको भन्दै त्यसबारेमा तपाईंको बुझाईं के छ भन्दै प्रश्न गरेका छन् । उनले भनिन् ‘सानालाई ऐन ठूलालाई चैन छ । न्यायालयमा आशा मरेको, बिचौलिया हाबी भएको छ । बाउको पालाको उजुरी नातिको पालामा पनि सकिँदैन । यो कसरी अन्त्य गर्ने’?

सांसदहरुको प्रश्नको जवाफमा पोखरेलले आफू ३ दशकदेखि आफू न्याय क्षेत्रमा क्रियाशील रहेको बताएका छन् । त्यसक्रममा उनले न्यायालय दबाब, अभाव र प्रभावबाट मुक्त हुनुपर्ने बताएका छन् ।

‘छिटो छरितो न्यायका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसका लागि विधायिकाले पनि सहयोग गर्नुपर्छ’,पोखरेलले कार्य योजनामा भनेका छन्, ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो भन्ने मान्यतामा म विश्वास गर्छु र न्याय छिटो दिन पहल गर्छु ।’

विगत तीन दशकदेखि न्याय र कानूनका क्षेत्रमा विभिन्न भूमिका र जिम्मेवारीमा रही न्यायपूर्ण समाज निर्माणमा क्रियाशील रहेको पोखरेलले दाबी पूस्तुत गरेका छन् । उनले आफ्नो सो क्रियाशीलताको मूल्याङ्कन गरी सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेकोमा न्याय परिषदलाई हृदयदेखि नै धन्यवादसमेत दिएका छन् ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनको नियुक्ति हुनेछ । पोखरेलको सुनुवाइ सकिए लगत्तै अर्का सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालमाथि सुनुवाइ सुरु हुनेछ ।

यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।



प्रतिक्रिया दिनुहोस्