Logo

डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं,३ पुस । सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निर्णयविरुद्ध डा.पौडेलले गएको मंसिर १८ गते रिट दायर गरेका थिए । उनले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका थिए ।

अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् ।

डा.पौडेल नेकपा एमालेका सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ क मा भएको व्यवस्था आकर्षित हुने देखिएकाले कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले डा पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए । डा पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए । यसबीचमा वीरको निमित्त निर्देशकको जिम्मेवारी सहनिर्देशक डा। श्रवणकुमार थापाले सम्हाल्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्